अमेरिकामा नेपालीमाथि शृङखलाबद्द आक्रमण


विश्वको शक्ति राष्ट्र अमेरिका अधिकांशको रोजाइमा मिसन/गन्तब्य बनेको छ । विश्वभरका नागरिक अमेरिकामा बसोवास गर्न लालायित देखिन्छन् । प्रजातन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रताको सुनिश्चितता, उदार अर्थनीति, दैनिक जीवनयापनका निम्ति अवसर सहजै प्राप्त गर्न सकिने सुबिधाले आप्रवासीको पहिलो रोजाइमा अमेरिका पर्छ । यहि क्रममा अलिकति आशा र उत्सुकता, अलिकति निराशा, अलिकति भ्रम अनि अलिकति यथार्थताको समिश्रण बोकेर अमेरिका प्रबेश गरेका थुप्रै नेपालीहरूले विगत केहि वर्षयता हिंसात्मक आक्रमणबाट निर्ममतापुर्बक अनाहकमा मृत्युवरण गर्नुपरेको कारूणिक र अप्रिय घटनाहरू चरणबद्द बढिरहेका छन ।

हालसालै केन्टकी राज्यको एलिजावेथ टाउनमा लमजुङ्ग गिलुङग स्थायी घर भएका सुभाष घलेको गोलि हानि हत्या गरिएको छ भने सोही घटनामा परी अर्का प्रयास बानिया गम्भिर घाइते भएका छन् । यो अमेरिकामा भएको पहिलो घटना भने होइन । २०१९ को जनवरीमा  टेक्सस, डालसको गारल्याण्ड ब्रोडवे एभेन्यूमा रहेको ग्यास स्टेशनमा लुटपाट र आतंकका क्रममा ३५ वर्षीय मनीष पाण्डेको ज्यान गयो ।

त्यसैगरी गत २०१८ नोभेम्बरमा धनगढीका ३१ वर्षीय विनोद जेठारा टेक्सासको ब्रायनमा रहेको ग्यास स्टेसनमा काम गरिरहेका बेला अश्वेत बन्दुकधारीहरूले हत्या गरे । दुई वर्ष अघि टेक्ससकै डेन्टनमा ग्यास स्टेशनमा कार्यरत समिरा शिवाकोटीको हत्या भएको थियो । नेपालीहरूको बसोबासको बाहुल्यता मानिने ड्यालस र वरपर नेपालीहरूद्वारा सन्चालित ग्याँस स्टोरमा लुटपाट र मानवीय हिंसाका घटना अस्वभाविक तिब्र बढ्दै गएका छन ।

जुलाइ २०१८ मा भर्जिनियाको हर्नडन सहरको फ्रयाङ्कलिन फर्ममा अवस्थित सुनाको ग्यास स्टेसनमा एकाबिहानै भएको आक्रमणमा गोरखाका ४० वर्षिय रेशम बजगाईंको मृत्यु भएको थियो । त्यसलगत्तै ओक्लोहोमा राज्यको बडिज ह्यान्डी मार्ट ग्यास स्टेसनमा दिउँसै काला जातिका एक लुटेराले अन्धाधुन्ध बन्दुक चलाउदा रचना श्रेष्ठमाथि आठ गोली लाग्यो । पिठ्यूँ, पाखुरा, गाला, पेट, कम्मर र मुटुको तल्लो भागमा गोली लागेर अल्पिल्ठो भएकी उनी उपचारपछि नयाँ जीवन पाएकी छिन ।

पाँच महिनाअघि मेरिल्यान्डस्थित हार्डफोर्ड काउन्टीमा गोली चल्दा ४१ वर्षीया बृन्दा गिरीको मत्यु भयो । घटनामा गिरीसहित अन्य तीन जनाको ज्यान गएको थियो । परिवारको सुनौलो भविष्यको सपना बोकेर अमेरिका आउनेहरूको जीवन हिंसाका घटनाले डरमर्दो बनाएको छ । ग्यास स्टेसनमै ज्यान गुमाउने र घाइते हुने नेपालीहरूको एकिन तथ्यांक नभएता पनि कहालीलाग्दो स्थिति छ ।

गत जनवरीमै टेक्ससको अर्बिनमा बन्दुकधारीहरूले प्रहरी अधिकारीहरूमाथि नै आक्रमण गरी ज्यान लिइएका थिए । यहाको प्रशासनलाइ नै प्रमुख चुनौती दिने अश्वेत आतंककारीहरूबाट जोगिन जोकोहिलाइ निकै मुस्किल छ ।

बिशेषगरी बैधानिक कागजात नहुनेहरू, अध्यनरत नेपाली बिद्यार्थीहरू, नवप्रबेशी र अन्य सीप एवंम् भाषामा दख्खल नभएकाहरू ग्यास स्टेसन र स्टोरहरूमै काम गर्न बाध्य हुन्छन् । तुलनात्मक रूपमा बढी जोखिम पनि यहि क्षेत्रमा छ । अमेरिकामा ग्यास स्टेसनमा पेट्रोल, डिजेलसहित चिया, कफी, चिसो पेयपदार्थ, चुरोट, सामान्य खाजा एवंम एटीएम लगायत उपलब्ध हुन्छ । प्राय नगदमा कारोबार संकलन गर्ने स्टोर, पसल र ग्यास स्टेसनहरूमा यस्ता घटना निरन्तर दोहोरिरहेका छन । अमेरिकामा आएर नेपालीहरूले रोजगारीको सुरूवात गर्ने ग्यास स्टेसन नै हो । तर त्यही ग्यास स्टेशनमा नेपालीहरु मारिने क्रम चर्को छ । अधिकांश यस्ता घटनामा एसियाली मुलुकका आप्रवासी हिन्दु धर्मावलम्बीहरूलाई देख्नै नसक्ने जातिवादी अश्वेत आपराधिक समूहहरू संलग्न भएका छन । बिभिन्न राज्यमा भएका हिन्दु मन्दिरहरूमा आक्रमण र तोडफोड गर्ने अर्काथरी क्रिश्चियन सम्प्रदाय पनि अस्थिस्त्वमा छन । केही समययता आप्रवासीमाथिको जातीय विभेद पनि बढ्दो छ ।

आक्रमणको निसाना
अमेरिकामा बन्दुकधारी अपराधीहरूको संख्या दिनानुदिन बढ्दो छ । लुट्नु एक प्रकारको ब्यवसायिक पेशा नै भएको पाइन्छ । ग्यास स्टेसन लक्षित घटना प्राय रातिको समयमा अश्वेत लुटेराहरूबाटै भएका छन् । नेपालीहरूले रातीको समयमा एकान्तमा एक्लै काम गर्नुपर्ने बाध्यता, सन्चालक/मालिक स्टोरमा नबस्ने, आत्मसुरक्षाबारे नबातादिने, राती सुरक्षाको बलियो ब्यवस्था नहुने भएकाले लुटेराहरूको मनोबल बढ्नु, सुरक्षा उपायहरू अपनाउनेभन्दा पनि प्रतिवाद गर्ने क्षमता नहुनु र पैसा जोगाउने नाममा ज्यान माया मार्ने खालको गतिविधि नै यस्ता अप्रिय घटनाका मुख्य कारण देखिएका छन् ।

यस्तो अवस्थामा होसियारीपूर्वक सावधानी उपायहरू अपनाउनु नै उत्तम हुने देखिन्छ । त्यसका लागि ग्यास स्टेसन साहुहरूले कामदारलाई सबैभन्दा ठूलो कुरा ज्यान हो, पैसा हैन भन्ने सिकाउन जरूरी छ । सकेसम्म पैसा जोगाउने तर त्यस्तो अवस्था नआए ज्यानको जोखिम नलिने मुलमन्त्र कामदारहरूलाई दिनु नै अहिलेका लागि पहिलो उच्चतम सुरक्षा हुन सक्छ । मालिकले जे भने पनि कामदारले अनिकालमा बीउ जोगाउँनु, हुलमुलमा जिउ जोगाउँनु भन्ने मान्यतालाइ सिरोपर गर्नैपर्छ । सुरक्षामा लापरवाही गर्नेलगायतका ज्यान जोखिम बढाउने काम गर्नु आफै नष्ट हुनु हो ।

ग्यास स्टेशनमा काम गर्नु वा ब्यावसाय गर्न निकै चुनौतिपुर्ण छ । अपराधजन्य घटना यहि बढि हुन्छन । यस्ता घटना घट्न नदिन के गर्ने भन्ने नै यसको चुरो उपाय हो । यस्ता घटनाहरू लुटेराबाटै हुने भएकाले लुटेराहरू किन आउँछन् भन्ने नै मूल प्रश्न हो । अधिकांश घटनाको प्रकृति धेरैमा व्यावसायिक लुटेराहरू नै संलग्न छन् । कोही लागू पदार्थका दुब्र्यसनी र सेवनका लागि लुट्ने टापटिपे लुटेराहरू पनि संलग्न भएको पाइन्छ ।

परिवारको सुनौलो भविष्यको सपना बोकेर अमेरिका आउनेहरूको जीवन हिंसाका घटनाले उजाड बनाइदिने क्रम बढ्नुलाई यहाको प्रशासनले प्रमुख चुनौती मानेको छ। विशेषगरी साना नानी लिएर आएका दम्पतीमध्ये एकको मृत्यु भए त्यो परिवारको दुःख बयान गरिनसक्नु भएको छ ।

आपराधिक गिरोहको उदय
हामीलाई लाग्छ, अमेरिका निकै सम्पन्न छ । तर, सत्य त्यो होइन । अमेरिकामा पनि थुप्रै विपन्न छन् । सधैं अभावमा बाँच्नुपर्ने समुदाय पनि ठूलो छ । उनीहरु सधैं र सबैतिरबाट हेपिन्छन् । अशिक्षा, गरिबी र बेरोजगारीबाट आक्रान्त त्यस्तो समूहका युवाहरूले सजिलै काम पाउँदैनन्। जब चारैतिरका आयश्रोतका ढोका बन्द हुन्छन् । अनि दुई-चार डलरमा कसैको ज्यान लिन पनि पछि पर्दैनन्। उनीहरुको साथी भनेकै लागु पदार्थ हो । उनीहरु आफ्नो जीवनको बारेमा कमै सोच्ने गर्छन् । लागुपदार्थको व्यापार र लुट्नु नै उनीहरुको मुख्य उद्योग हो ।

अमेरिकामा १८ वर्ष उमेर पुगेको व्यक्तिले सहजै बन्दुक किन्न सक्छन् । त्यसैले त्यसको दुरुपयोगका घटना दोहोरिने गरेका छन । लुटेरा एवं हिंसाविरुद्धको कारबाहीलाई अमेरिकी प्रहरीले प्राथमिकतामा राखेको छ । तर, तिनको जोखिम घटेको छैन। अमेरिकामा प्रहरी कारबाहीमा लुटेरा पक्राउ पर्ने र सर्वसाधारण मारिने घटना निरन्तर भइरहन्छन् । यस्ता घटना बढी हुने राज्यमा शान्तिसुरक्षाको प्रत्याभूति प्रमुख राजनीतिक एजेन्डाकै रूपमा स्थापित छ ।

लुटेराहरु पेस्तोल साथमा बोकेर हिँड्छन् । विगतका वर्षहरुमा अमेरिकामा भएका नेपालीहरुको हत्यामा गोली प्रहार प्रमुख देखिएको छ । लुटेराहरुले भनेको नमान्दा, उनीहरुसित प्रतिबाद गर्दा धेरैको ज्यान गएको देखिन्छ । कुनै-कुनै लुटेराले सुरुमै गोली हानेर लुट्ने गरेको घटना पनि छन । उनीहरु स्टोरमा छिर्छन्, नबोली गोली हान्छन् र आफ्नो मिसन पुरा गर्छन ।


ब्यवसाय र रोजगारी
अमेरिकाका अधिकांश राज्यमा नेपालीका सयौको संख्यामा ग्यास स्टेसन छन् र सोहि संख्यामा नेपालीहरू ग्यास स्टेसनका मालिक भएर अर्थोपार्जन गरिरहेका छन । प्रारम्भिक अनुमान अनुसार कतिपयले नेपालमा स्रोत नखुलेको अकुत सम्पति कालो धन अमेरिकामा ग्यास स्टेसनमा लगानी गरेका छन् । राजनीतिक दलका नेता र उपल्लो तहका कर्मचारीहरूले आफन्तमार्फत् यस्तो लगानी गरिरहेको आशंका छ ।

यहाँ रहेका नेपालीमध्ये धेरैले आफ्नो अमेरिकी जीवन ग्यास स्टेसनबाटै सुरू गर्छन् । जोखिमका लागि तयार रहने चरित्र, स्टोरमा क्यासियर भएर काम गर्न सक्ने पढाइ, आफुले भने जस्तो समयमा सहजै काम पाइने भएकाले पनि नेपालीका लागि सुरूवाती दिनमा ग्यास स्टेसन रोजगारीको केन्द्र भएको छ । अलिकति पूँजी, ज्ञान र अनुभव हासिल गरेपछि निजि ग्यास स्टेसन खोल्न पुग्छन् । एउटा स्टोर भएपछि केही समयमा अरू थप्ने क्रम सुरू हुन्छ । यसै क्रममा धेर नेपालीहरू, दर्जनौ ग्यास स्टेसनका मालिक हुन पुगेका थुप्रै ब्यवसायिक उदाहरण पनि छन् ।

नेपाली ग्यास स्टेसन सन्चालक र कामदारहरूको आधिकारिक तथ्यांक एकिन छैन । अर्को राम्रो काम नपाउन्जेल गरिने कामका रूपमा समेत लिइने भएकाले ग्यास स्टेसनबाट अन्य जब स्टेसनतिर हिड्नेहरूको तरल संख्या पनि ठुलो छ । नेपालीहरूको बाक्लो बसोबास रहेको टेक्सासमा मात्र पनि ठुलो संख्यामा नेपालीहरू ग्यास स्टेसनमा काम गरिरहेका छन् ।

अर्को एउटा अप्रिय सत्य, भारतीय पाकिस्तानी तथा नेपालीद्वारा सन्चालित अधिकांश स्टोरहरूमा विद्यार्थी र नवप्रबेसीलाइ तालिम भनेर महिनौ बिनापारिश्रमिक काम लगाउछन । समाजसेवी दाबि गर्दै नेपालतिर फेस्बुक्याउन र ट्रवीट्याउन भ्याउछन । न्युनतम मानवीयता लामो खडेरी छ । कतिपयले प्रतिप्रश्न गर्लालान अमेरिकामा श्रम शोषण हुन्छ र ॽ यहाँ कसैलाइ लक्षित गर्न खोजिएको होइन, तितो यथार्थता हामीमाझ छर्लङग छ । समाजसेवाको लाभ कसले कति पायो त्यो भुक्तभोगीहरूलाइ थाहा होला ॽ कसलाइ कति मानवसेवा गरे ॽ अन्तिममा तिनै अबोध श्रमिक, युवा विद्यार्थीहरू नरसंहारकारी हत्या र हिंसाको सिकार बनेका छन । एउटा नेपालीको मृत्यु हुनु भनेको परिवारको सदस्य गुम्नु बराबर हो, हाम्रो मानसिकता बदलिनुपर्छ । कार्यक्षेत्रमा उच्चतम सुरक्षा सतर्कता अपनाउनु बुद्दिमानी हुन्छ । यहाँ एक कविको भनाइ सान्दर्भिक हुन्छ ।
घरको छानो घरले छेल्छ, तिम्रो सहरमा ।
मान्छेले नै मान्छे पेल्छ पापी सहरमा ।।

दर्जनौ नेपालीको मृत्यु
अमेरिकी ग्यास स्टेसनमा नेपालीका लागि अवसरको मैदान मात्र छैन, कष्ट र पीडाको पहाड पनि तेर्सिएको छ । सुरक्षा जटिलता अहम छ । यसै क्रममा कयौ नेपालीले ग्यास स्टेसनमै असामयिक मृत्यु पनि वरण गरिसकेका छन् । एक अध्ययनका अनुसार सन् २००४ देखि २०१८ अर्थात् १४ बर्षमा कम्तीमा १४ नेपालीले ग्यास स्टेशन वा कन्भिनेन्स स्टोरमा काम गरिरहेको बेला ज्यान गुमाएका छन् । (खसोखास डटकम) तथ्थांक निरन्तर बढिरहेको छ ।

ग्यास स्टेशनमा काम गर्दा लुटेराको कुटाईबाट घाईते हुने, अंगभंग हुने, कुटाई खाने या लुटिनेहरूको संख्या ठुलै छ । अमेरिकामा ग्यास स्टेसनमा दिनानुदिन सुरक्षा चिन्ता बढ्दो छ । व्यवसायको वीमा हुने भएकाले मालिकहरूलाई राहत हुने देखिन्छ । तर, अधिकांश कामदारको बीमा पनि नुहने भएकाले उनीहरूको जीवन र परिवारमा ठूलो ज्वारभाटा नै आउने गरेको छ ।

अमेरिकामा गोली चल्नु नौलो घटना होइन । बेलबेला विद्यालय र सार्वजनिक स्थानहरुमा मास सुटिङ भई नै रहन्छ । सन् २०१८ मा मात्र मास सुटिङका क्रममा ४० जनाको ज्यान गइसकेको छ । वासिङ्टन पोस्टका अनुसार १९६६ अगस्ट १ देखि सन् २०१८ सम्ममा अमेरिकामा १ सय ५८ वटा मास सुटिङका घटना भइसकेका छन् । यस्ता घटनामा १ हजार १ सय २ जनाको ज्यान गएको छ । जसमा गर्भावस्थाकादेखि ९८ वर्षका वृद्धासम्म छन् ।

हालै अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटीभले बुधबार बन्दुक नियन्त्रण सम्वन्धि एचआर एट नाम दिईएको नयाँ विधेयक पारित गरेको छ । यो कानुनले बन्दुकबाट हुने हिंसा र लुटपाट नियन्त्रणमा कोसेढुंगा सावित हुने विश्वास लिइएको छ ।

आत्मसुरक्षा
अमेरिकाकामा ग्याँस स्टेसन सन्चालकहरूले कामदारलाइ सुरक्षाबारे सितिमिति बताउन चाहदैनन् । जुन गलत स्वार्थ हो । मनोवैज्ञानिक चिन्तनमा ह्रास देखिनु हो । ब्यापारिक दृष्टिकोणले नाफा/लाभ प्राथमिकतामा पर्छ, त्यो सबैलाइ थाहा छ । तर, न्युनतम मानवीय सुरक्षाको ख्याल नगर्नाले अप्रिय घटना भइरहेका छन ।

ग्यास स्टेसन वा स-साना स्टोरमा काम गर्ने नेपालीहरूले थाहा पाउनुपर्ने कुरा, ग्राहकको रुपमा आएका शंकास्पद व्यक्तिसँग प्रतिवाद नगर्नु । यदि ऊ लुट्न खोज्दैछ भने चुपचाप उसले खोजेको दिनु । तुरुन्तै प्रहरीलाई पनि फोन नगर्नु । लुटेर गइसकेपछि या आफू सुरक्षित छु भन्ने महसुस भइसकेपछि मात्र फोन गर्नुपर्छ । प्रहरीले अनुसन्धान गरेर लुटेरालाई पक्रिन सक्छ । तर, आफ्नो ज्यान फर्काउन सकिँदैन ! त्यसकारण, विशेषगरी रातिको समय या एकान्त ठाउँका स्टोरमा काम गर्नेहरुले यस्ता कुरा ख्याल गर्नैपर्छ ।

मध्यरातमा कन्भिनियन्स पसल बन्द गर्ने र ग्यास स्टेसन मात्र चलाउने, नजिकको प्रहरीसँग राम्रो सम्बन्ध बिस्तार गर्ने, सीसीटीभीलगायतका सुरक्षा सन्यन्त्रको प्रभाबकारी व्यवस्था गर्नु सुरक्षा बैकल्पिक उपाय हुन्छ ।

संघसस्था मौन
अमेरिकामा रहेका ३ लाख नेपालीहरूको छाता संस्था दाबि गरिएको गैरआवासीय नेपाली संघ चुनाब नजिकिदै गर्दा आगामी कार्यकालका लागि भन्दै नेतृत्वका आकांक्षी नेताद्वय बाक्लो नेपाली डायस्पोरा रहेका सहरमा ठुला होटलतिर बसेर मेम्बरसिप ड्राइभ अभियान सफल भएको बताएका छन् । अघिपछि मस्त निन्द्रामा हुने परिपाटीको परिणामस्वरूप बलतल ८ हजारले सदस्यता ग्रहण गरेको तथ्याङक हेर्दा गैरआवसीय नेपालीहरूबीचको सम्पर्कमा निश्क्रियता प्रस्टै देखिन्छ । थुप्रै सामाजिक हितमा सहायता गर्ने भनिएका सयौँ संघसंस्था र एनआरएनए माथि स्वभाबिक रूपमा केहि प्रश्नहरू यहाँ जन्मिन्छन ।

निर्वाचन लक्षित प्रत्यासीहरूले बिभिन्न माध्यमबाट उम्मेद्वारी र एजेण्डा सार्वजानिक गरिरहदा ग्यास स्टेसन, रेस्टुराहरूमा संलग्न बिद्यार्थी, श्रमिकहरू गैरआवासीय हुन भन्ने जानकारी छ कि छैन ॽ उर्जावान युवाहरूको अनाहकमा ज्यान जाँदा एनआरएनएले एउटा बिज्ञप्तिको चिर्कटो निकालेर मात्र पुग्छ ॽ कयौ श्रम शोषणको सिकार भइरहेका छन । उच्च शिक्षा प्राप्त गरेर कागजी उल्झनका कारण रोजगार पाउन सकेका छैनन । यहाँ ठगिएका उदाहरण बग्रेल्ती छन । नीतिगत उल्झनहरू उस्तै । हिंसात्मक घटनाबाट अंगभंग र मृत्यु भएका परिवारको दुराबस्था छ । यो संस्था दलीयकरणका धारमा पुँजीपति तथा बौदिक वर्गहरूको मात्र जनसहभागिता, प्रतिनिधित्व र नेतृत्वकर्ता हो स्वतन्त्र गैरआवासीय नागरिकहरूको सहायता, महत्व र आवश्यकता छैन ॽ यदि छ भने मजदुरहरूको उपेक्षा किन ॽ एनआरएको कार्यक्रममा बृहत्तर परियोजना मात्र होइन, सुक्ष्म सामाजिक समस्याहरू पनि गुरूयोजनाका रूपमा अगाडि ल्याउने प्रयत्न गर्नुपर्ने देखिन्छ ।

उल्लेखित बूँदाहरू एनआरएनएको चुनाबी एजेन्डामा अटाउनेमा शंका छ । समग्र आप्रवासी नेपालीहरूको नेतृत्व गर्ने मियो एनआरएनए भएकाले प्रथमत यहाँको प्रशासनसंग शान्ति, सुरक्षा लागि बेजोड सहकार्य गर्नुपर्ने देखिन्छ । हिंसापीडित नेपालीको हितका लागि सामाजिक सहयोग, र्थिक कोष ब्यवस्थापन, क्षतिपुर्ति लगायतका बिषयबस्तु उपर एनआरएले समीक्षा गर्दै नेतृत्वदायी समन्वयकारी भूमिका खेल्न सकोस । चुनाबी मैदानमा उत्रिएका प्रतिस्पर्धीलाइ शुभकामना । गैरआवासीय नेपाकलीहरूको हितमा बहुजन हिताय, बहुजन सुखाय‘ मूल मन्त्रको कल्याणकारी प्रतिनिधित्व गर्न सकोस बिशेष अपेक्षा छ । अनावश्यक सन्चालन भएका बिकृत सयौ संघसंस्था भङग गर्दै सम्पुर्ण गैरआवासीको एकछत्र नेतृत्व एनआरएको अपरिहार्य छ ।

अन्त्यमा, हामी दुख र पीडामा गुज्रिएका नेपाली एउटा मीठो सपनाका लागि देश-विदेश धाउछौँ । नेपाली संसारको हरेक कुनामा भेटिन्छौँ । संसारका थुप्रै देशमा नेपालीहरुले आफ्नो संघसंस्था खोलेका छन् । अमेरिकामा पनि नभएका होइनन् त्यस्ता संघ-संस्थाले नेपालबाट आउने नव-आगन्तुकहरुलाई सहायता कक्ष, परामर्श, जनचेतना, सुरक्षा प्रणाली, नीति, नियम, परिबेश र वातावरण लगायतका बहुआयामिक बिषयको जानकारी गराउने सामाजिक सहकार्याताको कार्यक्रम सन्चालन गर्नु आवश्यक छ । तब हुनेछ नेपाली मन र नेपाली पन ।

दधिराम खतिवडा

@drkhatiwada1992

कान्तिपुर दैनिकमा प्रकाशित २०७५ फागुन १४ गते 


No comments:

Post a Comment

प्रवासमा नेपाली साहित्य

साहित्यिक चेतको व्यक्ति जहाँ रहे पनि नेपाली मनले नेपाल र नेपालीको विषय राष्ट्रियता र संस्कृतिको विषयमा सोच्छ, लेख्न थाल्छ र बोल्न थाल्छ । अह...