नेपालबाट अमेरिका आएर विभिन्न क्षेत्रमा काम, अध्ययन, अनुसन्धान, ब्यवसाय
र प्राध्यापन गरिरहेका नेपाली विज्ञहरू आफ्नो सिप र क्षमतालाई नेपाल र नेपालीको
कल्याणकारी सामाजिक हितमा जोड्न एकजुट भएर छलफलमा लागेका छन् । यसैसाता वासिङ्टन
राज्यको सियाटलमा जम्मा भएका विज्ञहरूले आफ्नो दक्षता र अनुभवले खारिएका २० वटा
कार्यपत्र प्रस्तुत गर्दै आफुहरूले प्राप्त गरेको ज्ञान, सिप नेपालको बिकास र
संबृद्दिका लागि खर्चिनु पर्नेमा जोड दिएका छन ।
माइक्रोसफ्टको हेडअफिसमा आयोजित एनआरएन अमेरिकाको क्षेत्रीय विज्ञ
भेलामा प्रस्तुतिको निष्कर्षमा विज्ञहरूले नेपाल र नेपालीको हितमा कसरी काम गर्न
सकिन्छ भनेर आफ्ना धारणा राखेका थिए । अमेरिकामा आर्जन गरेको सिप क्षमता र
ज्ञानलाई नेपाल र नेपालीको हितमा जोड्ने प्रयासको निरन्तरता लागि एनआरएनले अगुवाइ
गरिरहेको छ ।
अवसर, कुर्सी, चुनाव र भाषण मात्र रुचि भएकाहरूको एनआरएनमा बोलवाला हुन्छ भन्ने
आममानिसको बुझाइलाई यस सकारात्मक कार्यक्रमले फरक सन्देश दिनेनै छ । ज्ञान
अनुभव र विज्ञता भएका नेपालीहरूको साथले
एनआरएनए अमेरिकाको छवि माथि उठाउन सहयोग पुग्ने अपेक्षा छ ।
एनआरएनए अमेरिका उत्तर पश्चिम क्षेत्रीय नलेज सेयरिंग कन्फरेन्स नाम दिइएको यो भेला
एनआरएनए अमेरिका साइन्स, टेक्नोलोजी तथा इनोभेसन कमिटी र वासिंगटन च्याप्टरको संयुक्त आयोजनामा
सन्चालन गरिएको थियो ।
विषयवस्तु र विज्ञहरूको प्रस्तुततिमा रुचि भएका सियाटल वरपरका नेपालीहरूको
कार्यक्रममा सहभागिता रहेको थियो । अमेरिकामा रहेका नेपाली विज्ञहरूको नेपाल
सम्बन्धलाई थप नजिक्याउन वासिङ्टन राज्यमा आयोजना गरिएको यो पहिलो सशक्त कार्यक्रम
हो ।
एनआरएनको स्थानीय च्याप्टरहरूको सहकार्यमा विज्ञहरूको भेला लस एन्जलस, डल्लास र डिसी मेट्रो
क्षेत्रमा गर्ने तयारी भइरहेको छ । अमेरिकामा नेपाली मूलका विज्ञहरू ठुलो
सङ्ख्यामा क्यालिफोर्निया, डिसी मेट्रो, सियाटल र बोष्टनमा रहेका छन् । विज्ञहरूको यस्तो क्षेत्रीय भेला छरिएर
रहेका नेपाली विज्ञहरूलाई एनआरएनको छातामुनि ल्याएर उनीहरूको सिप र क्षमतालाई नेपाल
र नेपालीको हितमा उपयोग गर्न सहयोगी हुनेछ । नेपालको विकास र संवृद्धिका लागि
अमेरिकामा विज्ञहरुको भेला, छलफल र नेपाल सरकारबीचको सहकार्य अपरिहार्य छ ।
गोरखापत्र दैनिक माघ १२, २०७५ मा
No comments:
Post a Comment