दधिराम खतिवडा
संयुक्त राष्ट्र संघको आह्वानमा हरेक बर्ष अगस्ट १२ का दिनलाइ नेपालले पनि अन्तर्राष्ट्रिय युवा दिवस बिभिन्न कार्यक्रम गरेर औपचारिकता निर्वाह गर्ने काम गर्छ । नेपालले वि. स. २००४ देखि मात्रै यो अन्तर्राष्ट्रिय युवा दिवस मनाउन सुरू गरेको हो । युवा वर्गको काँधमा ठूलो जिम्मेवारी छ । रूपान्तरणका सबै आयामहरू, जस्तो कि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय र शासकीय आयामलाई गतिशील बनाउन युवा वर्गको सार्थक सक्रियता जरुरी छ । उ नै अल्मलियो भने मुलुक सधैँ अल्मलिइरहने छ । त्यस्तै युवाको सहि उपयोग कसरी गर्ने ? युवालाई निर्माण र विनिर्माणमा कसरी स्वचालित गर्ने ? सिर्जना र सकारात्मकतामा कसरी ल्याउने ? भन्ने चिन्ता र चासो नीति निर्माताहरू रहनुपर्दछ । युवाका अपेक्षा र युवा उपयोगबीच सन्तुलन ल्याएर नै युवालाई उनीहरूको भविष्यप्रति आश्वस्त पार्न सक्नुपर्छ ।
विद्यमान राजनीतिक पार्टीका कुनै पनि संरचनामा युवाको प्रतिनिधित्व जनसंख्याका आधारमा हुन सकेको छैन । राजनीतिक दल र सोका प्रमुख नेताहरुबाट कुनै पनि संघ/संस्थाका कार्यकारी स्थानमा युवा सिफारिश गर्ने गरिँदैन । कारण– उनीहरु युवालाई सधैँ अपरिपक्व, अदक्ष र कमजोर देख्छन् । यो उल्टो सोचलाई सुल्टो बनाई राजनीतिक पार्टीका उच्चदेखि तल्लो तहसम्म युवाको जनसंख्याका आधारमा प्रतिनिधित्व गराउनु आजको मूल एजेण्डा हो । यतिमात्र होइन, राजनीतिक पार्टीहरुमा युवा नीति नै छैन । नीति नै नभएपछि युवाहरुलाई विकास गर्ने कार्यक्रम हुने कुरा नै आउँदैन, यदि आइहाले पनि नीतिबिनाको कार्यक्रमको कुनै गन्तव्य नै हुँदैन।
आज हाम्रा गाउँबस्तीहरु युवाविहिन भएका छन् । त्यहाँ देखिएका दृश्यले नेपालको भविष्य कता जाँदैछ भन्ने दिशा निर्देश गर्दछ । नेपालको शासन रूपान्तरणका लागि युवालाई विकास र राजनीतिमा केन्द्रित गर्न आवश्यक छ । सरकार र राजनीतिक दलहरू युवाको प्रतिनिधित्व र आकांक्षा पर्याप्त प्रतिविम्बित गराउनतर्फ सचेत हुनुपर्छ । युवाहरूलाई सरकारी र गैरसरकारी क्षेत्रबाट गुणस्तरीय शिक्षा, स्वास्थ्य, मर्यादित रोजगारी, रोजगारीका अवसरहरू, सार्वजनिक जीवन र नीति निर्माणका विभिन्न मञ्चमा सहभागिता एवम् अन्य विषयको खाँचो पर्छ । रोग, गरिबी र अन्य आवश्यकताका क्षेत्रमा युवाहरूलाई जोखिम कम गर्न तत् क्षेत्रमा तीव्र र व्यवस्थित सेवा प्रवाह जरुरी हुन्छ । न्यून गुणस्तरीय वैदेशिक रोजगारीमा निर्भरता कम गर्न र त्यताबाट फर्किएकाहरूलाई समायोजन गर्न सरकारका कार्यक्रममा सुधार गरी संस्थागत र सामाजिक अवरोधहरूलाई हटाउँदै देशभित्र रोजगारीका अवसर सृजना गर्नुपर्छ ।
अहिले अधिकांश युवा लक्षित भनेर ल्याइएका कार्यक्रममा समेत कि त गैर युवा वर्गको हालीमुहाली हुँदा समेत नियमक निकायको ध्यान पुग्दैन कि त शत्तासिन राजनैतिक दलले सिधा सिधा आफ्ना सिमीत कार्यकर्ता पाल्ने उद्देश्यले सो कार्यक्रम ल्याएका हुन्छन जसले आम युवा वर्गमा अपनत्व हुने गरि प्रभावकारीता दिन सक्दैनन् । त्यसैले युवाका नाममा यदा कदा हुने गरेका यि प्रयासहरुको कार्यान्वयन पक्ष के कस्तो रुपमा कति प्रभावकारी रहयो समिक्षाको विषय हुनु पर्छ । यती प्रयासले मात्रै राज्यको विकासको प्रमुख संवाहक शक्तिका उपर राज्यको दायित्व पुरा भयो कि भएन ? गम्भीरतापुर्वक अध्यन गरिनुपर्छ ।
नेपालमा भएका हरेक ठूला आन्दोलनहरू युवा सहभागिताबिना असम्भवजस्तै थिए भन्नेमा कसैको दुईमत नहोला । तर हरेक आन्दोलनपछि युवाहरू खोला तर्न प्रयोग भएका लठ्ठीजस्तै किनारामा फालिए । राजनीतिक दलले युवालाई भ¥याङ बनाएर सत्तामा पुग्ने र त्यसपछि युवाको भावना भुल्ने प्रवृत्ति छ । यो प्रवृत्ति नेपालका सबै राजनीतिक दलले छोड्नुपर्छ । युवाको चाहना भनेको उद्यमशीलता, शिक्षा र रोजगारीको अवसर हो तर यसमा युवा मारमा छन् । अहिले पनि युवा रोजगारका लागि विदेशिनुपर्ने अवस्था छ । ठूला आयोजना कार्यान्वयन भएका छैनन् । युवा आफैँले गरी खाने वातावरण बनेको छैन । तरुणहरू परिवर्तनका संवाहक भनिए पनि व्यवहारमा कार्यान्वयन भएको छैन । युवा जनशक्ति रोजगारका लागि स्वदेशमा औद्योगिक विकासको अपरिहार्यता छ ।
त्यसैले आज समयले युवालाई आह्वान गरिरहेको छ, युवाहरू हो, तिमीहरूको जीवनमा आज रहेको सबैभन्दा मूल्यवान वस्तु समय हो । जीवनकै यो मूल्यवान र स्वर्णीम समयको अत्यधिक र प्रभावकारी प्रयोगबाट तिमीहरू आफ्नो व्यक्तिगत जीवनको चित्र मात्र होइन, समाजकै चित्र बदल्न सक्ने छौ । त्यसो भए आफूभित्र अन्तर्निहित यत्रो विराट र अजेय क्षमता बोकेर युवा ‘जुटपत्ती र लुँडो’ खेलेर समय ब्यतित गर्ने बहानामा निरीह भएर किन बस्ने ? तसर्थ युवापङ्क्तिले अब सोच्नैपर्छ र केही त गर्नैपर्छ । किनकि युवाहरूको भाग्यको बिधाता युवाहरू स्वयम् आफै हो । त्यसैले आफ्नो भाग्यको निर्माण आफै गर्दै युवाका रचनात्मक नवीन सोचमा आधारित सत्य, न्याय र समानतामुलक समाज निर्माणका लागि युवा आफ्नो ऐतिहासिक दायित्व र भूमिका निर्वाह गर्नबाट किमार्थ चुक्नु हुँदैन ।
मुलुकको राजनीतिमा त झन् उच्च राजनीतिक नेतृत्वबाट नै युवाहरूको व्यापक दुरूपयोग भइरहेको छ । युवालाई आफूमाथि कहिल्यै प्रश्न नगर्ने मानव परिचालित रोबटमा परिणत गर्न खोजिरहेका छन् । यो समाजका लागि दुःखद् कुरा हो भने आफ्नो स्वार्थपूर्ति गर्ने साधनको रूपमा मात्र आफूलाई प्रयोग गरिरहेका नेताबाटै ती युवाले आफ्नो सुन्दर भविष्यको निर्माण र देश विकासको अपेक्षा गर्नु झन् गम्भीर र डरलाग्दो स्थिति हो । त्यसैले युवामा आलोचनात्मक चेतको विकास हुन अत्यन्त जरुरी छ । किनकि आलोचनात्मक चेतले मात्र सही र गलत छुट्याई समाजमा घट्ने विभिन्न घटना–परिघटनाबारे तथ्यमा रहेर समर्थन वा विरोध गर्न सिकाउँछ । तर चेतनाविहीनहरू समाजमा घट्ने त्यस्ता अनेक घटनाको वा कुनै पनि कुराको कि अन्धविरोध गर्छन्, कि त अन्धसमर्थन वा विश्वास गर्न पुग्छन् । यो प्रवृत्तिले समस्याको जडसम्म कहिल्यै पुर्याउँदैन ।
सबै नीतिमध्येको
मूलनीति मानिएको राजनीतिलाई सही दिशानिर्देश गर्न युवा दूरदृष्टि, सक्षम नेतृत्व, कुशल व्यवस्थापकको आवश्यकता पर्छ ।
मुलुकको विकास र समृद्धिका लागि युवा जनसंख्या महत्त्वपूर्ण मानिन्छ ।
युवालाई विकासमा उपयोग गर्ने देशले आर्थिक र सामाजिक विकासमा फड्को मार्छ ।
हाम्रो देशको शासन व्यवस्थालाई सबल र प्रभावकारी बनाउन राजनीतिमा युवाको आकर्षण र सहभागिता
बढाउनु आवश्यक छ ।
राजनीतिक दलहरूले पनि युवाहरूलाई परिचालन गर्ने मात्र होइन, उनीहरूको योग्यता, दक्षता र क्षमता अनुसारको उचित
अवसर र जिम्मेवारीसमेत दिनुपर्छ । राज्यको
नीतिनिर्माण तथा नेतृत्वको जिम्मेवारी सक्षम युवालाई दिइनुपर्छ ।
राज्यका हरेक तहमा युवा प्रतिनिधित्व, युवाहरुको नेतृत्व विकास तथा दक्षता अभिवृद्धि, युवाहरुलाई राज्यको मूल प्रवाहमा ल्याउने, समग्र क्षेत्रका नीतिहरुलाई युवामैत्री बनाइनुपर्छ । साथै, हरेक राजनीतिक पार्टीले युवासम्बन्धी आफ्नो स्पष्ट नीति बनाउनुपर्छ। जसले राज्यका विभिन्न निकायबाट युवाका लागि सञ्चालन गरिने कार्यक्रमलाई समन्वय गर्न र पार्टीभित्र पनि युवा नेतृत्व निर्माण गर्न मद्दत पुग्नेछ ।
२७ साउन २०८०, शनिबार गोरखापत्र राष्ट्रिय दैनिक
